मुख्य समाचार

भारतको गणतन्त्र दिवसकै दिन मागियो सुगौली सन्धीमा गुमेको नेपालको जमिन

काठमाडौं–भारतको गणतन्त्र दिवसका दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता माग गरिएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्दै भारतीय सरकारले भने नेपालको भूमि फिर्ता गर्नुपर्ने माग गरेको हो ।
‘१९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो’ मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जारी गरेको विज्ञप्तिमा भनिएकोछ, ‘ लामो समयसम्म उपनिवेशमा रहेर स्वतन्त्रता प्राप्त गरेको भारतले नेपाली भूमिको स्वतन्त्रतामाथि सैनिक बुट प्रहार गर्नु सामान्य कुरा नभएर जघन्य अपराध हो र उसले यो अपराध बोध नगर्नु झन् ठूलो अपराध हो ।’

अर्काको सम्पत्ति लुटेर धनी हुने सामन्तजस्तै भारतले नेपाली जमिन कब्जा गरेर आफ्नो क्षेत्रफल बढाउनु लाजमर्दो र क्षोभजनक कुरा भएको विज्ञप्तिमा उल्लेख छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन फिर्ता गर्न अभियान चलाउँदै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२६ जनवरी २०१९ का दिन दोहोर्याउँदै नेपाली भूमि सिक्किम , दार्जिलिङ , कुमाउ , गढवालमा गणतन्त्र दिवस मनाउन लागेकामा मोर्चा त्यसको भर्त्सना गर्दछ । यस घडीमा मोर्चा नेपाल र भारतका दुवै सरकारलाई सन् १९६० मा संयुक्त राष्ट्र संघद्वारा पारित उपनिवेशको अन्त्यसम्बन्धी १५१४ नं। को प्रस्तावको पालना गरी संयुक्त राष्ट्र संघको निर्णयको सम्मान गर्न पनि थप आग्रह गर्दछ ।’

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्