ब्रेकिङ न्युज

आतंककारी भन्दै अमेरिकामा प्रचण्डविरुद्ध यी व्यक्तिले उजुरी हालेपछि चौतर्फी आलोचना

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड अमेरिका गएको बेला आतंककारी भएको भन्दै पक्राउ माग सहित अमेरिकी प्रशासनमा उजुरी हाल्ने व्यक्तिको नेपालमा कडा आलोचना भएको छ । नेकपासहित विपक्षी दलका कार्यकर्ताका साथै स्वतन्त्र हैसियतमा रहेका नागरिक समेतले द्धन्द्धकालीन मुद्दालाई ब्यूताउन खोजेर गलत हर्कत गरेका टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध परेको उजुरीका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍ तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेका हुन् ।

तर, प्रचण्डका लागि अमेरिकाले उजुरी परेपनि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्