ताजा खबर

ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले देशको विकास र समृद्धिका लागि ज्येष्ठ नागरिकको अनुभव र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताएका छन् ।

बुद्धनगरस्थित शान्ति महिला समाजद्वारा आज आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक विकासमा लामो योगदान गरेका ज्येष्ठ नागरिकको शिक्षा तथा अनुभव सदुपयोग गर्न सकेमा देशले तीव्र गतिमा विकास कायम गर्न सकिने विचार व्यक्त गरे ।

पूर्वउपप्रधानमन्त्री सिंहले अहिलेको पुस्ताले उनीहरुलाई एकीकृत गरी पुराना विषयवस्तुको जानकारी लिने र नयाँ प्रविधिकाबारे सिकाउनसकेमा आत्मियता वृद्धि हुने बताए ।

प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही विगतमा योगदान गरेका उनीहरुलाई समय कटाउन ज्येष्ठ नागरिक केन्द्रको खाँचो रहेको बताए । ज्येष्ठ नागरिकलाई राष्ट्रले पनि स्मरण गर्नुपर्ने बताउँदै उनले घर परिवारले पनि राम्रो हेरचाह तथा स्याहार गर्नुपर्ने विचार व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्रका प्रत्येक वडामा ज्येष्ठ नागरिकमैत्री केन्द्र निर्माणका लागि गृहकार्य गरिरहेको जानकारी दिइन् । शान्ति महिला समाजका अध्यक्ष कृष्णा खरेलले स्थानीय विकास तथा सामाजिक क्षेत्रमा योगदान गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्थाको नीति रहेको बताइन् । उक्त अवसरमा ईश्वरचन्द्र गौतमलगायत ६० जनालाई सम्मान गरिएको थियो ।
(रासस)

About the author
nepalbritain news

nepalbritain news