१३ पुष २०८२, आईतवार
Follow Us

सप्तरी, काभ्रे र धादिङका पाँच जनाको आरडीटी रिपोर्ट पोजेटिभ

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७७, बुधबार ०४:०८

काठमाडौं । सप्तरीका दुई जना पुरुषमा र्‍यापिड डायग्नोस्टिक टेस्ट ‘आरडीटी’ गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भारतको दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएपछि घरमै बस्दै आएका दुई जनाको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘आरडीटी’ गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।

पोजेटिभ रिपोर्ट आउनेमा खडग नगरपालिकाका १ र तिलाठी कोइलाडी गाँउपालिकाका एकजना रहेका छन । अस्पतालले खडग नगरपालिकाका तीन जना, तिलाठी कोइलाडी, अग्निसाइर कृष्णासवरन, राजविराज र सुरुंगा नगरपालिकाका एक–एक जना गरी सात जनाको परीक्षण गरेको थियो ।

ति मध्ये दुईजनामा संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण भए नभएको पुष्टि गर्नका लागि दुबैको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट चुमनलाल दासले जानकारी दिए ।

उनीहरु सबै दिल्लीवाट फर्केपछि घरमै बसिरहेका थिए । यस्तै सप्तरीको डिमनस्थित मदरसामा ११ जना भारतीयहरु बसिरहेको भेटिएको छ । उनीहरुलाई प्रशासनले त्यही क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । साथै उनीहरुको पनि ‘आरडीटी’ टेष्ट गर्ने तयारी गरिएको छ ।

त्यस्तै काभ्रेका दुई जनामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । बेथान्चोक गाउँपालिकाका २८ बर्षिय र मण्डनदेउपुरका २३ बर्षिय पुरुषमा आरडीटी परीक्षण पोजिटिभ देखिएको हो ।

एकजना भारत र एक जना दुवईवाट फर्केका युवा हुन् । दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको खुल्नेछ । दुबैजनाका परिवारलाई पनि क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै धादिङको ज्वालामुखी गाँउपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको पनि आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ज्वालामुखी–३, अमराई निवासी युवक फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी गरिएको छ । परिवारका सदस्यलाई पनि क्वारेन्टिनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धेरै पढिएको