ताजा खबर

संक्रमित बढेपछि गण्डकी प्रदेशले किन्यो नयाँ पिसिआर मेसिन

गण्डकी प्रदेशमा सबैभन्दा पहिला कोरोना संक्रमित देखिएको बाग्लुङमा बिहीबार फेरि १० जनामा संक्रमण पुष्टि भयो।

जसमा १ जना ३३ वर्षीया महिला पनि छन्। उनी ७ महिने बच्चाका आमा हुन्। करिब ९ वर्षदेखि भारतको दिल्लीमा श्रीमानसँगै बस्दै आएकी महिलामा कोरोना पोजेटिभ देखिँदा उनका ७ महिने बच्चा र श्रीमानको रिपोर्ट भने नेगेटिभ आयो। उनीहरू १२ गतेदेखि भारतबाट बाग्लुङको निसीखोला गाउँपालिकाले पिकनिक स्पट भवनमा बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए।

उक्त क्वारेन्टाइनमा बसेका अन्यको रिपोर्ट भने नेगेटिभ आएको वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले जानकारी दिए। उनीहरूलाई जिल्ला अस्पताल पठाउने तयारी भएको उनले बताए।

बाग्लुङमा बिहीबार बडीगाड गाउँपालिकाका ४, गल्कोट नगरपालिका ३ र निसीखोलामा १ महिलासहित ३ जना कोरोना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए। उनका अनुसार, बिहीबारमात्र गण्डकी प्रदेशमा १६ जना नयाँ संक्रमित थपिएका छन्।

बाग्लुङका ढोरपाटन नगरपालिका, तमानखोल, निसी र बडीगाड गाउँपालिकाले समन्वय गरेर भारतबाट आउने आफ्ना नागरिकलाई सीमानाबाट उद्धार गरिरहेका छन्। बुधबार देखिएका संक्रमित पनि बडिगाड गाउँपालिकाले नेपाल–भारत सिमानाका सुनौलीबाट ल्याइएका नागरिक हुन्।

बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले उक्त गाडीमा करिब ६२ जना जति रहेको बताए।

‘भारतबाट दिनदिनै आइराखेका छन्,’ उनले सेतोपाटीसँग भने, ‘हामी चार वटा पालिका मिलेर सीमानामा गाडी पठाइराखेका छौं।’

गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा धेरै संक्रमित बाग्लुङमा भेटिएका छन्। भारतबाट आउने नागरिकको संख्या बढेसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण पनि बढिरहेको छ। प्रयोगशालाका प्राविधिकहरूले पछिल्लो समय धेरै स्वाब संकलन भएकाले परीक्षणमा ढिलाइ हुने गरेको बताएका छन्।

बाग्लुङका बिहीबार देखिएका संक्रमितको स्वाब ५ दिनअघि जेठ १७ गते संकलन भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले १८ गते नै उनीहरूको स्वाब परीक्षण गर्न पोखरास्थित प्रयोगशाला पठाए। स्वाबको परीक्षण रिपोर्ट भने ५ दिनपछि बिहीबार बिहानमात्र आयो।

प्रयोगशालाका प्याथोलोजिष्ट डा. मोनी सुवेदीले प्रयोगशालामा अझै ६ सय ९ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको बताइन्। उनका अनुसार, हालसम्म प्रयोगशालामा ४ हजार ४ सय ११ वटा स्वाब परीक्षणका लागि आइसकेका छन्। जसमा नेगेटिभ रिपोर्ट ३ हजार ७ सय ५१ वटा छन् भने पोजेटिभ रिपोर्ट ५१ वटा छन्।

कोरोना भाइरस पोजेटिभ आएका केसलाई पुन परीक्षण गर्नुपर्ने र ३ वटा जिन परीक्षण गर्नुपर्ने भएकाले ढिलो हुने सुवेदीले बताइन्।

‘अहिले स्वाब कलेक्सन बढी भइराखेको छ,’ उनले भनिन्, ‘हामी बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म काम गर्दैछौं, तर स्वाब घटाउन सकेका छैनौं।’

प्रयोगशालाको रियल टाइम पिसिआर मेसिनबाट दैनिक १ सय ५० वटा परीक्षण भइराखेको उनले बताइन्। सरकारले गण्डकी प्रदेशलाई पठाएको पिसिआर मेसिन भने अहिले थन्किएको छ। दिनमा १० वटा मात्र केस हेर्न मिल्ने भएकाले प्रयोगशालाको पुरानो मेसिनबाटै परीक्षण गरेको सुवेदीको भनाइ छ।

गण्डकी प्रदेशले अहिले नयाँ आरटी पिसिआर मेसिन खरिद गरेको छ। उक्त मेसिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालनजिकै क्षेत्रीय क्षयरोग उपचार केन्द्रमा राखेर परीक्षण अघि बढाउने तयारी भएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक डा. सपना सुवेदीले बताइन्।

उक्त मेसिन सञ्चालनमा नआएसम्म अहिले एउटामात्र पिसिआर मेसिनबाट परीक्षण गर्दा ढिलाइ हुने उनको भनाइ छ।

प्रदेशले जर्मन कम्पनीको आरटी पिसिआर मेसिन खरिद गरेको उनले जानकारी दिइन्। कोरोना भाइरसको परीक्षण गर्ने नयाँ प्रयोगशाला सुरू हुन कम्तिमा पनि १ साता लाग्ने उनले बताइन्।

About the author
nepalbritain news

nepalbritain news