३० पुष २०८२, बुधबार
Follow Us

फागुन ३ को प्रदर्शन व्यापक बनाउन देउवाको आग्रह

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार १२:४७

काठमाडौं । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आज नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरे । कांग्रेसले शनिबार ७७ जिल्लामा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीलाई पार्टी सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

‘सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा आज आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ । प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।

प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने शुभेच्छुक संस्थाका साथीहरूसंगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भ्रातृ संघका साथीहरु, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक सञ्जालमार्फत् भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु ।

निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु-याउनु हुने आदरणीय पत्रकार मित्रहरूमा नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्दै पूर्व घोषणा अनुरुप फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको