ताजा खबर

माधव नेपाल समूहले समानान्तर कमिटी बनाउन थाल्यो

काठमाडौं । नेकपा एमाले विवादको असर भ्रातृ संगठनहरुमा पनि देखिन थालेको छ । माधवकुमार नेपाल पक्षका युवा तथा महिला भ्रातृसंगठनको भेलाले छुट्टै संगठन विस्तार गरेका छन् ।

महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अखिल नेपाल महिला संघको समानान्तर कमिटी गठन गरेको छ । ओली नेतृत्वको एमालेको महिला संघकी अध्यक्ष सीता पौडेल छन् । माधव नेपाल पक्षीय अध्यक्ष राईका अनुसार भेलाले ४७५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

त्यसैगरी, युवा संघ पनि विभाजित छ । शनिवार राजधानीमा सम्पन्न नेपाल पक्षीय युवा संघको भेलाले नरेश शाहीलाई अध्यक्ष चुनेको छ । संघका बरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दिपक जीएम सहित नयाँ नेतृत्व चयन भएको हो ।

संस्थापन पक्षले केही समयअघि नेकपा विभाजन भए लगत्तै वचनबहादुर सिंहलाई अध्यक्ष बनाएर युवासंघ पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षले चैत १० गते विद्यार्थी भेला गरी अनेरास्ववियुको पनि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको भन्दै माधव पक्षले देशभर समानान्तर कमिटी बनाउने निर्णय गरिसकेको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता