१० असार २०८१, आईतवार
Follow Us

‘यारा ओ यारा’ गीतमा सनीले हाँस्छन

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार ०४:३८

मुम्बई । अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन् । सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएन, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने । यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे ।

दिग्गज अभिनेता धर्मेन्द्रका छोरा सनी अभिनित फिल्म ‘जीत’ को गीत  ‘यारा ओ यारा’ को एक किस्सा अहिले पनि बलिउडमा उत्तिकै चर्चाको विषय बन्छ । कमैलाई थाहा होला कि यो गीतको सुटिङका समयमा सनी र अभिनेत्री करिश्मा कपुरबाहेक फिल्मका प्राविधिकदेखि लिएर बाँकी कलाकार सबैलाई सेटबाहिर राखिएको थियो ।

यो फिल्म सन् १९९६ अगष्ट २३ मा रिलिज भएको थियो । यो फिल्म सनीको करियरको सम्झन लायक फिल्ममा पर्दछ । गीत ‘यारा ओ यारा’ स्वीटजरल्याण्डमा सुटिङ गरिएको थियो । सुटिङका क्रममा करिश्मा र सनीबाहेक सबैलाई सुटिङ सेटबाट भगाइएको थियो ।

सनीले नृत्यको नाममा यो गीतमा केवल हात र खुट्टा मात्र चलाएका थिए । ६ मिनेटको यो गीतपछि सनीले आफू देवल परिवारको उत्कृष्ट डान्सर नभएको स्वीकारेका थिए । सनीलाई आफू गीतमा नाँच्दा उनको नृत्य हेर्नेहरु हाँस्नेछन् भन्नेमा डर थियो । सोहीकारण सेटबाट करिश्मा र सनीबाहेक सबैलाई भगाइएको थियो ।

सनीले सेटमा आफूले गीतको रिहल्सल गर्दा कोरियोग्राफर चिन्नी प्रकाशबाहेक अरु कोही नबस्ने नियम बनाएका थिए । यो गीतको फाइनल सुट हुँदा साउण्ड, लाइटदेखि लिएर हरेक डिपार्टमेन्टमका मानिसहरु सनीको नियम अनुसार सेटबाट बाहिर गएका थिए । केही मानिस मात्र सेटमा थिए । सनीले आफ्नो नृत्यमा अरुले खिल्ली उडाउलान् भनेर यो नियम बनाएका थिए ।

निर्देशक साजिद नाडियाडवालाका अनुसार नृत्यको सट दिएपछि सनीले निर्देशक र कोरियोग्राफरलाई राम्रो भयो कि भएन भनेर सोध्थे । सनीको अगाडि सबैले तारिफ गरे पनि पछाडि भने उनीहरु हाँस्ने गर्थे ।