१७ असार २०८१, आईतवार
Follow Us

बालेन साह पैसा र बैंसले मात्तिएको काँग्रेस सांसदको टिप्पणी

नेपालब्रिटेन संवाददाता
१५ असार २०८१, शुक्रबार १३:३९

काठमाडौं । कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोलेका उनले साहको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन् । बालेन्द्रकै शैलीका कारण महानगरभित्र तीनवटै सरकारको समन्वयमा काम हुन नसकेको उनको टिप्पणी थियो । उनले तीन तहका सरकारबीच समन्वय नहुने प्रवृत्ति कायमै रहने हो भने एउटै सरकारले मात्र काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

बालेनले कहिले सडक विभागमा फोहोर फाल्ने र कहिले सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने धम्की दिनु राम्रो नभएको बताए । ‘एउटा गीत छ । कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन्’, तामाङले भने, ‘महानगरपालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुर्इटैले मात्तिएजस्तो छ ।’

जिम्मेवारी कम भएका कारण यस्तो अवस्था आएकाले महानगरपालिकालाई थप जिम्मेवारी दिन आवश्यक रहेको उनको भनाइ थियो । महानगरलाई सडक, ढल, फुटपाथ, खानेपानी, विद्युतसहित विकासका सबै कामको जिम्मा लगाइदिए बैंस र पैसा दुवैले नमात्तिले तर्क तामाङले गरे ।

‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु, यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने’, उनले भने, ‘३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’