इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले गरेको आक्रमणममा आणविक स्थलहरूमा “अत्यधिक र गम्भीर“ क्षति भएको स्वीकार गरेका छन् ।
उनले आणविक स्थलहरुमा भएको क्षतिको बारेमा मूल्यांकन भइरहेको बताएका छन् । उनले अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको पनि प्रष्ट पारेका छन् । इजरायलसँगको १२ दिने युद्धपछिको अवस्थामा अमेरिकासँग आणविक वार्ता पुनः शुरु गर्न लागेको भन्ने खबरलाई इरानले विदेशमन्त्री अब्बासले अस्वीकार गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले वार्ता शुुरु गर्न कुनै योजना नभएको र यसबारे सहमति वा संवाद पनि नभएको प्रष्ट पारेका छन् । इजरायली आक्रमणबाट इरानी आणविक केन्द्रमा पुगेको क्षतिको अध्ययनपछि मात्र कुटनीतिक निर्णय लिइने उनले जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहि दिनअघि विशेष दूत स्टिभ विटकॉफ मार्फत आगामी सातादेखि इरानसँग “समग्र शान्ति सम्झौताको लागि वार्ता शुुरु हुने दाबी गरेका छन् । उता इरानी संसदले राष्ट्रसंघीय आणविक निगरानी संस्थासँगको सहकार्यलाई निलम्बन गर्ने बाध्यकारी प्रस्ताव पारित गरेको छ ।