काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित पुलमा टिओबीका सदस्यले पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद गरीएको छ ।
गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।पेस्तोल बोक्ने काठमाण्डूका ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन ।
बिजुलीबजारमा पुलमा टिओबी लेखिएको कालो ड्रेस लगाएका तेन्जेन चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको देखिन्छ । उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिन्छन् ।
यो भिडियो सार्वजनिक भएपछि सामाजमा आतंक सिर्जना भएको थियो । भिडियो पुरानो रहेको देखिए पनि उक्त हतियारबारे प्रहरीले अनुसन्धान गरेको थियो ।
तेन्जनले उक्त हतियार नक्कली रहेको दाबी गरेका थिए । उनीबाट एक थान नक्कली पेस्तोल बरामद भएको छ । बरामद नक्कली पेस्तोल नै उक्त भिडियोमा देखिएको तेन्जेनले बताएको प्रहरी स्रोतले बताएको छ ।