काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आन्दोलनमा क्रममा आफ्नो ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका छन् ।
आन्दोलनका क्रममा भएका घटनाहरू आकस्मिक र स्वतःस्फूर्त नभएर सुनियोजित भएको उनको निष्कर्ष छ ।
जेनजी आन्दोलनमा आफ्नै निवासभित्र आक्रमणमा परेका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै उनले आफू र परिवारको ज्यान जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।
आफ्नो सम्बोधनमा देउवाले भनेका छन्, ‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ ।’
उनले थपे, ‘तपाईँहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।’
देउवाले आफ्नो निवासमा ठुलो परिमाणमा नगद रकम भेटिएको भन्ने विषयमा कुनै स्पष्ट जवाफ दिएनन् । बरु आफूहरूको प्रतिष्ठा र छवि गिराउन सुनोयोजिरुपमा झुटा प्रचार गरिएको टिप्पणी गरे । घटनाक्रम झट्ट हेर्दा व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने उनको ठहर छ ।
‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु, साथै जीवनभर स्मरण गरिरहनेछु,’ उनले भने ।
देउवाले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिएका छन् र घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र
प्रदर्शनले अर्कै रूप लिएर निर्दोष नवयुवकहरूको ज्यान गएको उनको भनाइ छ । यस घटनाले आफूहरूलाई अत्यन्तै मर्माहत बनाएको देउवाले बताएका छन् ।
‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ,’ उनले भनेका छन् ।
देउवाका अनुसार काँग्रेसका केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिब १ सय २५ जना नेताहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ । विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीवारिको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले मर्माहत भएको उनले बताएका छन् ।
‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ । यी दुवै दिनका घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु,’ उनले भनेका छन् ।
‘यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन् । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । देशमा सबै महत्त्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ । यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ ।’
भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन् ।
‘त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ,’ उनले भने ।