गण्डकी । हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँ बजारको प्राविधिक सहयोगमा पोखराको बाटुलेचौरमा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।
दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गरेका थिए । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए। मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समन्वयमा उपचार गरिने जनाइएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक संघसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिए ।
क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिए । अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।
बिरामीलाई नि:शुल्क औषधि वितरण र सहुलियत दरमा चस्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।