काठमाडौं । एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।
योसँगै नेपाली युवा टोलीले जितविहीन हुँदै एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको यात्रालाई टुंग्याएको छ ।
दुवाईमा नै भएको एसीसी प्रिमियर कपको उपविजेता बन्दै एशिया कपका लागि छानिएको नेपालको यु-१९ टोलीले एशिया कपमा त्यहि लय कायम राख्न नसक्दा लगातार तीन खेलमा पराजय व्यहोरेको हो ।
समूह बी मा रहेको नेपाली युवा टोलीको ब्याटिङ र बलिङ दुबैमा अपेक्षित प्रदर्शन हुन सकेन् । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।