काठमाडौँ । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-२ मा तेह्रथुमको लालीगुराँस नगरपालिका-२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेना गृहको निर्माण, कैलालीको गौरीगंगा नगरपालिका-११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ ।
यसैगरी, रौतहटको परोहा नगरपालिका-४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका-४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ ।