काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन । आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् ।
गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो ।
बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नरहेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन्। बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ ।
कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा रहेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।