२६ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्र निर्माणका लागि मसँग स्पष्ट दृष्टिकोण छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७५, बुधबार ०७:१८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागी राष्ट्रसंघलाई सघाउन नेपाल सदैव प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागी आफ्नो मुलुक राष्ट्रसंघलाई सघाउन सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

राष्ट्रसंघले आयोजना गरेको एक्सन फर पिसकिपिङ, शान्ति स्थापना कार्य सम्बन्धी सम्मेलनमा प्रधानमन्त्री ओलीले मुलुकको कठिन अवस्थामा समेत सेना र प्रहरी पठाएर शान्ति स्थापनामा नेपालले योगदान पुर्‍याएको बताए । त्यस्तै, न्युर्योकमासम्पन्न एसिया सोसाइटीको शान्ति, लोकतन्त्र र विकास विषयक सभामा समेत प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र मौलिक स्वतन्त्रतामा सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालमा विदेशी लगानी, कनेक्टिभिटी र दिगो वातावरण संरक्षण प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका लागि आफूसँग स्पष्ट दृष्ट्रिकोण रहेको समेत बताए । उनले अन्य राजनीतिक द्धन्द्धका घाउहरुमा मलम लगाउदै सबै सरोकारवालाको आवाज समेट्दै जनता र सरकारलाई नजिक ल्याउन राज्य पुर्नसंरचना गरिएको दाबी गरे ।

गरिवी निवारण, असमानता उन्मुलन, बिभेदको अन्त्य, रोजगारको अवसर, सामाजिक न्याय सुनिश्चितता र सुशासन कायम गर्न प्रभावकारी रुपमा काम गरिरहेको बताए । राष्ट्रसंघको महासभालाई भने प्रधानमन्त्री ओलीले भोली सम्बोधन गर्नेछन् ।