२० बैशाख २०८१, बिहीबार
Follow Us

सरकारले पीडितलाई न्याय दिन सकेन : नेता गुरुङ

sarusaru
१९ बैशाख २०७६, बिहीबार ०२:४५

बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान सरकारले पीडितलाई न्यान दिन नसकेको बताएका छन् ।

पाल्पाको रामपुरमा आज नेपाली काङ्ग्रेस नगर कार्य समितिको आयोजनामा पार्टी प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा हत्या हिंसा, बलात्कार, चोरी डकैती जस्ता जघन्य अपराध घटिरहेको भए पनि सरकार मौन रहेको आरोप लगाए ।

“सरकारले अपराधीलाई कानूनको दायरामा ल्याउन सकेको छैन, पछिल्लो समय अपराधजन्य क्रियाकलाप बढ्दै गइरहेको छ”, उनले भने ।
मुलुकमा पटक पटक व्यवस्था परिवर्तन भए पनि नेता परिवर्तन हुन नसक्दा आर्थिक समृद्धि हुन नसकेको नेता गुरुङको भनाइ छ । उनले आन्तरिक राष्ट्रियता बलियो हुनु आवश्यक रहेको बताए । आन्तरिक राष्ट्रियता बलियो भयो भने मात्र जनताले स्वाभिमानका साथ बाँच्न पाउनेछन् उनले भने ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले आर्थिक क्रान्तिको माध्यमबाट आत्मनिर्भर बनाउने कार्यमा काङ्ग्रेस अगाडि बढेको बताए । उनले आर्थिक समृद्धि बढाउन जिल्लाका १० वटै स्थानीय तहमा काङ्ग्रेस जागरण अभियान शुरु गरिने बताए ।

“मुलुकमा सरकार छ या छैन भन्नेमा जनता अन्यौलमा छन्”, उनले भने । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले विकासको लागि सहकार्य आवश्यक रहेको बताए । “सबैसँग सहकार्य गरी नमूना रामपुर बनाउने कार्यमा लागेका छौँ”, उनले भने ।
रासस