३० बैशाख २०८१, आईतवार
Follow Us

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्यूरोडमा व्यापारीको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७७, बुधबार १०:३०

काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु पदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने माग सहित सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु आज विरोधमा उत्रिएका हुन् ।

व्यापारीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने माग गरेका छन् ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु समस्यामा परेको उनीहरुको भनाइ छ । महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए ।

व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।