१६ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७७, मंगलवार १०:२९

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि स्टार अस्पताल ललितपुरमा उपचाररत लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका हुन् ।

उनले फेसबुकमा भनेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला, आफ्नो सुरक्षामा कतै नचुक्नु होला, यो सामान्य रोग होइन, यसले ज्यान लिन सक्छ ।’

उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् । ‘आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।’

उनले आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको जानकारी दिएका छन् । ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु’ उनले फेसबुकमा लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’