३० बैशाख २०८१, आईतवार
Follow Us

इंग्ल्याण्डमा अब आंशिक लकडाउन

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७७, बुधबार ०६:४५

लण्डन । आज बुधबारबाट इंग्ल्यान्डमा जारी दोस्रो चरणको लकडाउनको अन्त भएर आंशिक लकडाउन अर्थात तीन तहको लकडाउन शुरु हुदैछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण दरलाई नियन्त्रण गर्न भन्दै सरकारले गत महिना नोभेम्बर ५ बाट डिसेम्बर २ सम्मका लागि इंग्ल्याण्डमा करिब चार हप्ता लामो देशव्यापी लकडाउनको घोषणा गरेको थियो । सो अवधिमा बन्द गरिएका इंग्ल्याण्डका पब, रेष्टुरेन्ट, बार जिमखाना, हेयर ड्रेसर, ब्यूटी शैलुन, पर्सनल केयर सर्भिस लगायतका अत्यावश्यक बाहेकका सबै पसलहरु बुधबारबाट संचालन हुनेछन । तर, संक्रमण दरको प्रकृति हेरेर कतिपय स्थानमा भने अझै पनि कडा प्रतिबन्धको नियम लागू हुनेछ । लकडाउन खुले पनि करिब ५५ मिलियन इंग्ल्याण्डवासीहरु अझै पनि अर्को घरका परिवारसँग घरमाभित्र बस्न पाउने छैनन् ।

बेलायती सरकारद्वारा इंग्ल्याण्डमा बुधबारबाट लागू गर्न लागिएको तीन चरणको लकडाउन मंगलबार संसदमा भोटिंगमार्फत पास गरिएको थियो । बुधबारबाट जारी गरिने लकडाउनलाई कोरोना संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरि तीन तहमा वर्गीकरण क्षेत्रगत प्रतिवन्धको घोषणा गरिएको छ । बढी संक्रमण भएका कारण अति उच्च जोखिममा परेका क्षेत्रहरुमा म्यान्चेस्टर, बर्मिङहम, नटिङहम, लेस्टर, लिंकनशायर, ब्ल्याकपुल, ल्यांकाशायर, वारविकशायर, ब्रिस्टोल, साउथ ग्लस्टशायर, नर्थ समरसेट लगायतका क्षेत्र छन् । उच्च अलर्टमा सबैभन्दा बढी क्षेत्रहरु छन् ।

यसअघि लागू गरिएको तीन तहको लकडाउनको तुलनामा यसपटकको लकडाउन बढी प्रतिबन्धात्मक हुनेछ । जस अनुसार अति उच्च जोखिम अन्तर्गतका क्षेत्रहरुमा मानिसहरुलाई इन्डोर जमघटमा रोक लगाइएको छ । बढीमा छ जनाको समूहमा आउटडोर अर्थात पार्कमा भेट्न पाउनेछन् भने रेष्टुरेन्ट तथा पब जस्ता सार्वजनिक स्थानहरुमा समेत भेटघाट प्रतिबन्ध लगाइएको छ । टेकअवेबाहेकका पब तथा रेष्टुरेन्टहरु बन्द रहनेछन् । इन्डोर मनोरञ्जन भेन्यूहरु बन्द रहनेछन् भने पर्सनल केयर तथा हेयर ड्रेसर भने सञ्चालन हुनेछन ।

उच्च जोखिम रहेका क्षेत्रमा अन्य घरका परिवारसँग घरभित्र जमघट गर्न पाइने छैन । सार्वजनिक स्थानबाहेक पार्कमा बढीमा ६ जनासम्म भेटघाट गर्न पाइनेछ । पब तथा रेष्टुरेन्टहरु ११ बजे राति अनिवार्य रुपमा बन्द गर्नुपर्नेछ ।

यसैगरी मध्यम जोखिम भएका क्षेत्रहरुमा भने अन्य घरका ६ सदस्यसम्मको घरभित्र जमघट गर्न पाइनेछ । यसैगरी पब तथा रेष्टुरेन्टहरु राती ११ बजेभित्र बन्द गरिसक्नुपर्नेछ । सिमित संख्यामा खेलकुद तथा लाइभ कार्यक्रमा सञ्चालन गर्न पाइनेछ ।

क्रिसमसको समयलाई मध्यनजर गर्दै लकडाउनलाई सहज पर्ने सरकारले यसअघि नै घोषणा गरेको थियो । यद्धपि बेलायतमा कोरोना संक्रमणको दर अझै पनि नियन्त्रणमा आएको छैन । पछिल्ला केहि दिनहरुमा दैनिक रुपमा पाँचदेखि सात सयको हाराहरीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यसैगरी संक्रमितको संख्या पनि दैनिक १२ हजारभन्दा बढी रहेको छ । हिजो मंगलबार मात्र २४ घन्टामा थप ६०३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने १३ हजार ४३० जना नयाँ संक्रमित थपिएका थिए । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजारभन्दा बढी छ ।

बेलायतमा यहि डिसेम्बरको पहिलो साताबाट कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप यसैसाता ब्रिटेनमा आइपुग्ने बताइएको छ ।