२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाविरुद्धको भ्याक्सिन नेपालीले छिट्टै पाउँछन्: सञ्चारमन्त्री गुरुङ

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार ०७:५५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन् ।

उनले जनतालाई निरास हुन नदिन, उनीहरुलाई राष्ट्र निर्माणको अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानव अधिकारकर्मीहरुको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे ।

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।

मानव अधिकार हनन् नहुने गरी जनतालाई सुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे । उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि सो क्रममा बताए ।