३१ बैशाख २०८१, सोमबार
Follow Us

नेकपा दाहाल नेपाल समूहले माघ १६ गते आम हड्ताल गर्ने

नेपालब्रिटेन संवाददाता
५ माघ २०७७, सोमबार १२:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह माघ १६ गते आम हड्तालमा जाने चेतावनी दिएको छ । समूहका अध्यक्ष पुष्पकमल दाहालले अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा यस्तो चेतावनी दिएका हुन् ।

माघ १६ गते हुने आमहड्तालका लागि आवश्यक तयारीमा लाग्न समेत दाहालले नेता–कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टी एकताका बेलाका सबै सहमति लत्याएको उनको भनाइ थियो । उनले भने, ‘ओलीले सबै सहमतिलाई लत्याएर जाँदाजाँदै संविधान नै हत्या गर्ने, संविधानमाथि नै कुठाराघात गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारे ।’

ओलीले संसद् विघटनको कदम संविधान र गणतन्त्रमाथिकै प्रहार भएको दाहालले बताए । उनले भने, ‘पत्रकार साथीहरूले यो कुरालाई राम्रोसँग स्थापित गर्नुपर्छ । केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन् ।’