२९ बैशाख २०८१, शनिबार
Follow Us

स्वस्थानी व्रत आजबाट शुरु

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७७, बिहीबार ०४:३९

काठमाडौं । पुस शुल्क पुर्णिमादेखि माघ पुर्णिमासम्म चल्ने श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ । एक महिनासम्म बसिने यो ब्रतलाई कठोर ब्रतको रुपमा लिइन्छ । उपत्यकाको पूर्वमा पर्ने साँखुको शालीनदी तथा भक्तपुरको हनुमानघाटमा श्री स्वस्थानीको ब्रत लिने व्रतालुहरुको भीड लागेको छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर-घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।