१८ बैशाख २०८१, मंगलवार
Follow Us

क्षेत्री समाज यूकेद्वारा तीनवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७८, बुधबार १८:२१

लन्डन । कोभिड–१९ ले स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजन व्यवस्था गर्न क्षेत्री समाज बेलायतले ३ वटा अक्सिजन कन्सन्ट्रेटर किन्ने पैसा हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष यज्ञ क्षेत्रीले दुई हजार एक सय पाउण्डको चेक एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई आइतबार हस्तान्तण गरेका हुन् ।

गत मे १५ मा भएको एनआरएनए यूके र लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीसहितको आपतकालिन बैठकले ‘अक्सिजन पठाऔं – नेपालीको ज्यान बचाऔं’ अभियान अन्तर्गत एक संस्था न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अभियानमा साथ दिंदै क्षेत्री समाज यूकेले पनि तत्कालै कार्यसमितिको आपतकालीन बैठक गरि तीनवटा अक्सिजन कन्सन्ट्रेटर बराबरको सहयोग गर्ने प्रतिवद्धता गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले सहयोगका लागि क्षेत्री समाज बेलायतलाई धन्यवाद दिइन् । मातृभूमिमा परेको संकटको बेला छोटो समयमा बेलायतवासी नेपालीहरुले देखाएको उत्साहपूर्ण कार्य निकै सह्रानीय रहेको पनि गुरुङले बताइन् ।

समाजका अध्यक्ष यज्ञ क्षेत्रीले मातृभूमिमा संकटको बेला सक्दो सहयोग गर्न समाज निरन्तर क्रियाशील रहने बताए । कार्यक्रममा अध्यक्ष क्षेत्री समाजका सल्लाहकार एवं एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा लगायत उपस्थित थिए ।

जीवन रक्षाका लागि प्रमुख आवश्यकता अक्सिजन भएको र नेपालमा अक्सिजनका कारण कयौंको ज्यान गइरहेको हुँदा एनआरएनए यूकेले अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने योजना अघि सारेको हो ।

यस अभियानमा बेलायतका एक सय भन्दा बढी संघसंस्थाहरुले खुलेर सहयोग गरेका छन् भने व्यक्तिगत पहलमा पनि सहयोग प्राप्त भइरहेको एनआरएनए यूकेले जनाएको छ । बेलायतबाट नेपाललाई करिब दुई करोड ५० लाख रुपैयां बराबरको सहयोग पुग्न सक्ने अनुमान छ ।