२३ बैशाख २०८१, आईतवार
Follow Us

एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १२:३९

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो ।

आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी दिएको थियो । उता एमालेबाट निष्कासित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले वार्ताका नाममा अध्यक्ष केपी ओलीले नयाँ खेल रचेको निष्कर्ष निकालेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भर्चुअल माध्यामबाट भएको बैठकमा अध्यक्ष ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको बताएका छन ।

बैठकमा सहभागी नेताहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने राय दिएका दिएका थिए । पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्तामा थिए ।

यसैबीच नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको जारी केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति मार्फत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउन नमिल्ने तामाङले जारी गरेको सूचनामा उल्लेख छ ।