लण्डन । जेनजी प्रदर्शनमा भड्किएको हिंसात्मक घटनामा ज्यान गुमाएका पीडितहरूको सम्झनामा लण्डनमा शान्ति र्याली निकालिने भएको छ।
भोलि (मंगलवार) साँझ ५ बजे लण्डनस्थित ट्रफल्गर स्क्वायरमा आयोजना हुने यो र्याली वेलायतस्थित नेपाली युवाहरूले स्वतःस्फूर्त रुपमा आयोजना गरेका हुन्। कार्यक्रम आयोजकमध्येकी एक प्रसुना कंडेलले र्याली कुनै संस्थाको नाममा नभई व्यक्तिगत स्तरमा आयोजित भएको बताउँदै, “यो भेला मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय एकताको सन्देश दिनका लागि हो,” भनिन्।
जेनजी प्रदर्शनमा भड्किएको हिंसामा हालसम्म काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको छ। विभिन्न स्थानमा घाइते भएका व्यक्तिहरूको विवरण संकलन भइरहेको र अहिले सम्म ३०० भन्दा बढी घाइते उपचाररत रहेको प्रहरीको भनाइ छ।
यसैबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।