काठमाडौं । सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले देशमा गृहयुद्ध थाल्ने धम्की दिएको छ । प्रधानमन्त्री सुशीला कार्की आफूहरुको भावना र मागविपरीत अघि बढेको भन्दै सो समूहले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको थियो ।
आफूहरुले आन्दोलन गरेर प्रधानमन्त्री बनाएको भन्दै उनीहरुले आफूहरुले भनेको कार्कीले मान्नुपर्ने दाबी गरे । संयोजक गुरुङले कार्कीलाई आफूहरुले प्रधानमन्त्री बनाएको भन्दै थुतेर बाहिर निकाल्न सक्ने धम्की दिएका छन् ।
‘हाम्रो मुद्धा र शहीदको सपना पूरा नभएसम्म आन्दोलन जारी रहन्छ । हाम्रो साथीको रगत र पसिनामाथि घात भयो भने हामी यो देशमा गृहयुद्ध गर्न तयार छौं’, गुरुङसँगै बालुवाटार घेर्न गएका उनका एक सहयोगीले चेतावनी दिँदै भने । आफ्ना साथीहरुको लासमाथि खेलबाड गरिएकाले सह्य नहुने उक्त समूहले बताएको छ ।
आफूहरुले आन्दोलन गरेको भए पनि दलालहरु शक्तिमा पुगेकाले फेरि अर्को आन्दोलन गरेर उनीहरुलाई बाहिर निकाल्नुपर्ने प्रदर्शनमा सहभागी अधिकांशको भनाइ छ । ‘आन्दोलन हामी गर्ने, हामी साथीहरु मर्ने अनि दलाल पठाएर हामीलाई लेखेट्ने ?’ ।
खास गरी उनीहरुको आक्रोश अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएकामा छ । सहजीकरणका नाममा आएका अर्याललाई गृहमन्त्री नियुक्त गरिएकामा आपत्ति जनाउँदै गुरुङ समूहले गृहमन्त्री मागेको छ ।