लन्डन । दशैं तिहारको अवसरमा बर्न्ट ओक नेपाली समाजले शनिबार भव्य रुपमा दशैं तिहार कार्यक्रम आयोजना गरेको छ।
एजवेयरस्थित टीए सेन्टरमा शनिबार आयोजित कार्यक्रमको शुरुमा नेपाल तथा बेलायत दुवै मुलुकका राष्ट्रिय गानहरु गाइएका थिए। त्यसपछि हालै नेपालमा जेन जी प्रदर्शनको क्रममा जीवन गुमाएका सबैको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै हेन्डनबाट निर्वाचित सांसद डेभिड पिन्टो डसचिन्स्कीले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धको चर्चा गर्दै गोर्खा सैनिक दुवै देश बीचको सम्बन्धको मजबूत जग भएको बताए। उनले नेपाली समुदाय मेहनती र अनुशासित भएको बताउंदै ब्रिटेनको एकता र विकासमा अप्रवासी समुदायको योगदानको प्रशंसा गरे। लन्डन बरो अफ बार्नेटका मेयर ड्यानी रिचले झन्डै चार लाख मानिस हरु बसोबास गर्ने बार्नेट लन्डन कै एक बहुसांस्कृतिक तथा समृध्द बरो भएको बताए। उनले बार्नेटलाई सफा र सुरक्षित राख्न नेपाली लगायत सबै समुदायले पुराइ रहेको योगदानको प्रशंसा गरे। उनले नेपालमा हालै घटेका घटनाहरुको बारे थाहा पाएपछि आफुले पोखराका मेयरलाई एक संदेश पठाएको जनाए। लन्डन बरो अफ बार्नेट तथा पोखरा महानगरबीच सन् २०२१ मा भगिनी सम्बन्ध (ट्विनिंग सिटी एग्रीमेन्ट ) भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि तमु धीं युकेका अध्यक्ष जुम काजी गुरुङले आफ्नो स्थापना कालदेखि नै नेपाली समाजलाई एकजुट गर्न बर्न्ट ओक नेपाली समाजले पुराउँदै आएको योगदानको प्रशंसा गरे। उनले गत २४ अगष्टमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलामा सक्रियतापूर्वक सहभागी भएकोमा समाजलाई धन्यवाद पनि दिए।
बर्न्ट ओक नेपाली समाजका अध्यक्ष खमीर जंग गुरुङले दशैं एकता र मेलमिलापको पर्व भएको स्मरण गर्दै दशैं, तिहार जस्ता चाडले नेपाली समुदायलाई भावी पुस्ताको हितको लागि समेत आपसमा सहकार्य गर्न प्रोत्साहित गरिरहेको बताए। उनले सम्पूर्ण सदस्य तथा पाहुनालाई दशैं तथा तिहारको शुभकामना दिंदै कार्यक्रम सफल पार्न खट्ने आमा समूहकी अध्यक्ष मञ्जु गुरुङ तथा पदाधिकारीहरु, कार्यक्रम संयोजक गोकुल ढुंगाना लगायत समाजका सबै सदस्यलाई धन्यवाद पनि दिए।
उक्त अवसरमा मेयर रिच तथा अध्यक्ष गुरुङले समाजका गतिविधिहरुमा योगदान पुराउने नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष भोला पनेरु, इन्दिरा मोक्तान, निर्मला गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, फ्रेन्ड्स अफ सिल्क स्ट्रिम लगायतलाई प्रशंसा पत्र प्रदान गरे भने समाजका नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। त्यस्तै शैक्षिक क्षेत्रमा उपलब्धि प्राप्त गरेका पूर्वअध्यक्ष तथा काउन्सिलर लक्ष गुरुङ र नितिस जङ थापालाई बधाई दिइएको थियो भने बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा विजयी बाबुछोरा ज्ञानेन्द्र क्षेत्री र एड्रियन क्षेत्रीलाई आउटस्ट्यान्डिङ अचिभमेन्ट सर्टिफिकेट प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन समाजकी महासचिव हेलिशा गुरुङले गरेकी थिइन् भने स्वागत मन्तव्य अफिस म्यानेजर ओमकुमारी गुरुङले राखेकी थिइन् । कार्यक्रममा लन्डन बरो अफ बार्नेटका पूर्व उप मेयर लक्ष गुरुङ, काउन्सिलर कमल गुरुङ, काउन्सिलर सराह कन्भे, समाजका पूर्व अध्यक्ष उदय गुरुङ लगायतको उपस्थिति थियो।
कार्यक्रमको दोश्रो चरणमा नेपालबाट आएकी चर्चित गायिका प्रिय गुरुङले लोकप्रिय गीतहरु गाएर मनोरंजन गरेकी थिइन्। कार्यक्रममा अध्यक्ष खमिर जंग गुरुङ तथा प्रिया गुरुङले ‘ दशैं आयो’ भन्ने गीत गाए भने हेलिशा गुरुङले स्वागत नृत्य प्रस्तुत गरिन्। कार्यक्रममा विभिन्न बालबालिकाले तिहारको महत्व दर्शाउने नृत्य प्रस्तुत गरेका थिए भने प्रसन्न न्यौपाने, रुपक पन्त र उमेश खड्काले देश भक्तिको भावनाले ओतप्रोत गीतहरु सुनाएका थिए। त्यस्तै कृतिका कार्की, कुमार गुरुङ, ओजल गुरुङ, अनमोल गुरुङ लगायतका कलाकारले रोचक प्रस्तुति गरेका थिए।
सांस्कृतिक कार्यक्रमको संचालन प्रतिष्ठा कार्कीले गरेकी थिइन्। कार्यक्रममा पन्चे बाजा बजाएर पाहुना तथा सदस्यहरुलाई स्वागत गरिएको थियो।