काठमाडौं । जेनजी अभियन्ता भावना राउतले समानुपातिक सूची सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सूची नसच्याए रास्वपालाई अन्धाधुन्ध समर्थन गर्न नसकिने स्पष्ट गरेकी छन् । उनले प्रत्यक्षका उम्मेदवार नहेरेसम्म रास्वपालाई मत दिने कि नदिने भन्नेबारे निर्णय नगर्ने बताइन् ।
विवेकशील पार्टीका संस्थापक उज्जवल थापाको भनाइ उद्धृत गर्दै राउतले समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने अन्धभक्त बनिने र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु भएको उल्लेख गरिन् ।
आफू अन्धभक्त बन्न नसक्ने पनि राउतको स्पष्टोक्ति छ । ‘यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ । प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ । अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन’, उनले भनेकी छन्,‘उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं, र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो । म अन्धभक्त बन्न सक्दिनँ ।
यद्यपि रास्वपाले बहुमत पाओस् र काठमाण्डूका मेयर बालेन्द्र साह प्रधानमन्त्री बनुन् भन्ने आफ्नो पनि चाहना रहेको उनले बताइन् । यद्यपि नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न आफू तयार नरहेको उनको भनाइ थियो ।
‘समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु । तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु । यो मेरो प्रतिबद्धता हो । मैले बुझेको राजनीति हो’, उनले भनेकी छन् । यसअघि उनले रास्वपाको समानुवातिक सूचीमा सहरका ब्राण्डेड अनुहार मात्र देखिएको भन्दै आपत्ति जनाएकी थिइन् ।