अमेरिकामा आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् । नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई–तिहाइ अमेरिकी नागरिक प्रभावित भएका उल्लेख गरीएको छ ।
‘डेली मेल’ का अनुसार न्युयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।
– एजेन्सी