१२ फाल्गुन २०८२, मंगलवार
Follow Us

अघोषित गठबन्धनको कसरत भइरहेको हो ?

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८२, बुधबार ०६:०१

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । बाहिर एक्लाएक्लै चुनाव लड्ने घोषणासहित मनोनयन दर्ता गराएका प्रमुख दलहरूभित्र ‘अघोषित’ चुनावी तालमेलको चर्चा चुलिएको हो ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी माहोल देशव्यापी रूपमा फैलिएपछि पुराना ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) झस्किएका छन् । आफूलाई असुरक्षित महसुस गरेका शीर्ष नेताहरूले निर्वाचन क्षेत्र सुरक्षित गर्न भित्रभित्रै मिलिभगतको प्रयास भइरहेको चर्चा सुरु हुन थालेको हो । यद्यपि, यस्तो गठबन्धनबारे दलहरूले आधिकारिक रूपमा केही बोलेका छैनन् ।

शीर्ष नेताको गोप्य भेटघाट
विघटित प्रतिनिधिसभाका प्रमुख दलका नेताहरूबीच औपचारिक तथा अनौपचारिक दौडधुप बाक्लिएको छ । यसै क्रममा आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा अहिले चुनावी मैदानबाहिर छन् । तर, शक्ति सन्तुलन र भित्री सहमति जुटाउन ओली र प्रचण्डले देउवासँग गम्भीर छलफल गरेको बुझिएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीले एमालेले जित्न सक्ने स्थानमा सहयोग गर्न आग्रह गरेका थिए । यो भेटघाटलाई फागुन २१ को चुनावमा एक-अर्कालाई सघाउने ‘वार्मअप’ का रूपमा लिइएको छ । केही दिनअघि मात्रै नेकपा संयोजक दाहालले कांग्रेस र एमालेसँग सहकार्य असम्भव नरहेको बताएका थिए, जसले अघोषित गठबन्धनको चर्चालाई बल पुर्‍याएको छ ।

यसपटक शीर्ष नेताहरू नै चुनावी नतिजाप्रति ढुक्क हुन सकेका छैनन् । एमाले अध्यक्ष ओली झापा-५ बाट चुनावी मैदानमा छन्, जहाँ उनलाई रास्वपाका वरिष्ठ नेता बालेन साहले कडा चुनौती दिइरहेका छन् । यता, सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई रास्वपाकै अमरेश सिंह र पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्डलाई जनयुद्धका सहिदपुत्र सन्दीप पुनले टक्कर दिइरहेका छन् । उता सप्तरी-३ मा जसपा अध्यक्ष उपेन्द्र यादवको अवस्था पनि सहज छैन ।

विगतमा अन्य दलसँग मिलेर चुनाव जित्दै आएका ओली, थापा र प्रचण्ड यसपटक रास्वपाको प्रभावका कारण दबाबमा छन् । यही असुरक्षाका कारण झापा-५ मा कांग्रेस-नेकपाले ओलीलाई, सर्लाही-४ मा एमालेले कांग्रेसलाई र रुकुममा कांग्रेस-एमालेले प्रचण्डलाई सघाउने गरी भित्री सहमति बन्न सक्ने विश्लेषण गरिएको छ ।

बाहिर इन्कार, भित्र स्वीकार !
दोस्रो तहका नेताहरूले भने बाहिर देखिने गरी तालमेलको खण्डन गरिरहेका छन् । एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्काल तालमेलको सम्भावना नरहे पनि राजनीतिमा असम्भव भन्ने केही नहुने बताए । प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा गुरुङले भने, ‘अहिले नै तालमेल भइहाल्छ भन्ने म देख्दिनँ, तर दुई–चार दिनमा कोर्स परिवर्तन हुन पनि सक्छ । हुँदै हुँदैन भनेर ठोकुवा गर्न सकिँदैन ।’

कांग्रेस सभापति गगन थापानिकट नेता शंकर तिवारीले कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएकाले गठबन्धनको हल्ला निराधार भएको दाबी गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसले कसैसँग तालमेल गरेको छैन र गर्ने पनि छैन ।’ कांग्रेसले महासमिति बैठकबाटै गठबन्धन नगर्ने निर्णय पारित गरेको र सभापति थापा स्वयं तालमेलको विपक्षमा रहेकाले संस्थागत गठबन्धनको सम्भावना कम देखिन्छ ।

नेकपा संयोजक दाहालका सचिवालय सदस्य गोविन्द आचार्यले पनि पछिल्ला दिनमा एमालेसँग कुनै संवाद नभएको जिकिर गर्दै भने, ‘चुनावी तालमेल हुँदैन । बाहिर आएका हल्लामा सत्यता छैन ।’

धेरै पढिएको