८ चैत्र २०८२, आईतवार
Follow Us

कुवेत ट्रान्जिटमा रोकिएका ३३ नेपालीको साउदीमार्फत गन्तव्यतर्फ प्रस्थान

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८२, आईतवार १३:५७

काठमाडौँ । कुवेतमा हवाई सेवा अवरुद्ध भएपछि ट्रान्जिटमा अलपत्र परेका नेपाली यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्दै गन्तव्यतर्फ पठाइएको छ। सो क्रममा ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यमा पठाइएको छ ।

कुवेतस्थित नेपाली कूटनीतिक नियोगको समन्वयमा ती यात्रुहरूलाई स्थलमार्ग प्रयोग गरी साउदीतर्फ पठाइएको हो। हवाई उडान प्रभावित भएपछि विभिन्न देशतर्फ प्रस्थान गर्ने क्रममा ट्रान्जिटमै रोकिएका यात्रुहरूलाई साउदीस्थित नेपाली नियोगसँगको सहकार्यमा व्यवस्थापन गरिएको जनाइएको छ।

साउदी अरेबियामा नियमित हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई अन्तिम गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको हो। यसअघि पनि कुवेत ट्रान्जिटमा अड्किएका ६९ जना नेपालीलाई रियादस्थित नेपाली नियोगसँगको समन्वयमा स्थलमार्ग हुँदै साउदी पुर्‍याएर त्यसपछि हवाई मार्गबाट गन्तव्यतर्फ पठाइएको उल्लेख छ।

कुवेत र कतार दुवै मुलुकमा हवाई सेवा प्रभावित हुँदा ट्रान्जिटमा रहेका नेपाली यात्रुहरूलाई प्रारम्भिक रूपमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यहाँबाट हवाई मार्ग प्रयोग गरी सम्बन्धित गन्तव्यमा पठाउने प्रक्रिया निरन्तर सञ्चालनमा रहेको जनाइएको छ।

यसका लागि प्रभावित यात्रुहरूलाई ट्रान्जिट प्रयोजनका लागि साउदी भिसा आवेदन गर्न अनुरोध गरिएको थियो। अनलाइन माध्यमबाट भिसा प्रक्रिया पूरा गरेपछि प्राप्त अनुमतिका आधारमा दूतावासको सहजीकरणमा यात्रुहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने कार्य अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

धेरै पढिएको