११ श्रावण २०८३, सोमबार
Follow Us

महान् गायिका आशा भोसलेको निधन, भारतीय संगीतमा एक युगको अन्त्य

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८२, आईतवार ०८:०३

काठमाडौं । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी भोसलेलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले पनि उनको निधनको समाचार सार्वजनिक गरेका छन् ।

सात दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । परिवारका अनुसार, उनको अन्त्येष्टि भोलि सोमबार गरिनेछ । भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी लता मंगेशकर सँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी भोसलेले १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको पहिलो रोजाइ बनिरहेकी थिइन् ।

सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पार्श्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा उनले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् । उनले पछिल्ला गीतहरूभन्दा शास्त्रीय संगीत र गजलप्रति आफ्नो रुचि बढी रहेको बताएकी थिइन् । साथै उनले राहत फतेह अली खान र सुनिधि चौहान का केही गीत मनपर्ने गरेको पनि उल्लेख गरेकी थिइन् ।

धेरै पढिएको