१८ कार्तिक २०८२, मंगलवार
Follow Us

आज एमाले वार कि पार ?

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७८, शनिबार ०६:५७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे च्यासलमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार (आज)सम्म माधवकुमार नेपालहरु आए आउँछन् नआए अघि बढ्ने बताएको दिन हो । आजकै दिन पार्टीको स्थायी कमिटी बैठक बस्दैछ । सबैको ध्यान माधव नेपालहरुलाई कारवाही गर्लान् वा के गर्छन् भन्नेमा छ ।

केही दिनअघि ओलीले नेपाल लगायतका नेताहरुका लागि शनिवारसम्मको डेटलाइन तोकेका थिए । पार्टीमा आउनेलाई स्वागत गर्ने र नआउनेका लागि विदा गर्ने मनसायले सो अभिव्यक्ति आएको थियो । आज बस्ने स्थायी कमिटी बैठकले पार्टीमा एकतावद्ध भएर नआउनेका लागि के गर्छन् ? भन्ने प्रश्न सर्वत्र उठेको छ ।

नेपाल समूह भने आज पनि बैठकमा नजाने भएका छन् । नेपाल पक्षीय नेता डा. बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए । ‘हामीलाई बैठकमा बोलाउनु नबोलाउनुको कुनै अर्थ छैन,’ भुषालले भने, ‘विवाद समाधान नभइ हामी जाँदैनौं ।’

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, माधव नेपाल पक्षसहित सबै स्थायी कमिटी सदस्यहरुलाई निम्तो गरिएको छ ।

ओली पक्षीय स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफूहरु अहिले पनि दुई शीर्ष नेताबीच भेट गराएर विवाद समाधानको प्रयासमा रहेको बताए । नेम्वाङले दुई दिनअघि नेता नेपालसँग भेट गरी अध्यक्ष ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । अझै पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रयास जारी रहेको नेता नेम्बाङले बताए ।

कार्यालय सचिव तामाङले जनाए अनुसार, आजको बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्नेबारे छलफल हुनेछ । यसै महिनाको अन्तिममा विधान अधिवेशन गर्ने तयारी रहेको भए पनि केही दिन पछाडि सर्ने सम्भावना रहेको तामाङले बताए। बैठकमा केही विभागहरु गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।

धेरै पढिएको