संसदमा एनआरएनएलाई नागरिकता तत्काल दिन माग (भिडियो)
काठमाडौं । करिब दुई दशकदेखि प्रवासमा बस्ने नेपालीले उठाउँदै आएको गैरआवासीय नेपाली नागरिकताको बहस पुनः संसदमा प्रवेश पाएको छ ।
संविधानमा धारा १४ मा गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नभएपछि मंगलबारको संघीय संसदमा सो विषयले प्रवेश पाएको हो ।
संघीय संसदमा बोल्दै सांसद डा. सूर्य पाठकले संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, संस्कृतिक अधिकारसहितको नागरिकता दिने भनेर लेखिए पनि ६ वर्ष बितिसक्दा कानुनन बन्दा गैरआवासीय नेपाली नागरिकताबाट बन्चित भएको प्रति दुःख व्यक्त गरे ।
उनले तत्काल नागरिकतको व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक विकासमा जोड्न र उत्पादनमा लगाउनु पर्नेमा जोड दिए ।
उनले नेपालमा रोजगारी सृजना गर्दै नेपालको समग्र विकासमा टेवा पु-याउने गैरआवासीय नेपालीको सपना पूरा गराउन एनआरएनए नागरिकता अनिवार्य भएको जिकिर गरे । उनले केपी ओली सरकारले संसदीय समितिबाट पारित गरेका नागरिकतासम्बन्धी विद्येयकलाई तत्काल संसदमा प्रस्तुत गर्न आग्रह गरे ।
यसअघि संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एनआरएन नागरिकताको प्रकृयालाई अघि बढाउन आग्रह गरेका थिए ।

