१७ श्रावण २०८३, आईतवार
Follow Us

विदेशमा बस्ने नेपालीको मताधिकार पाउनु पर्छ : एनआरएनए पूर्वअध्यक्ष महेश श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८३, आईतवार ०८:०२

टोकियो । नेपाली कांग्रेसका नेता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीले मतदान गर्ने अधिकार प्राप्त गरेपछि नेपाली जनसम्पर्क समितिको भूमिका र महत्त्व अझ बढ्ने बताउनुभएको छ।

नेपाली जनसम्पर्क समिति, जापानको सातौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै श्रेष्ठले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित भएपछि जनसम्पर्क समितिको जिम्मेवारीसमेत थप बढ्ने धारणा व्यक्त गर्नुभयो।

शनिबार टोकियोको शिन–ओकुबोस्थित सोलमारी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उहाँले नेपालमा राजनीतिक दलहरूको विशेष महत्त्व रहेको उल्लेख गर्दै बहुजातीय र बहुभाषिक समाजलाई एकसूत्रमा बाँध्ने काम राजनीतिक दलहरूले नै गर्ने बताउनुभयो। विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

श्रेष्ठले भविष्यको राजनीति आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै विश्वभर काम गर्ने शैली परिवर्तन भइरहेका बेला राजनीतिक दलहरूले पनि समयअनुकूल आफूलाई रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको उल्लेख गर्दै उहाँले त्यसमा नेपाली कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा निर्वाचन अधिकृत भूपि गोविन्द श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ तथा पदको गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

मुक्तिराज रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान सभापति लालबहादुर केसी, पूर्वसभापति दण्डपाणि कँडेल, पूर्वसभापति डा. बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, केन्द्रीय सदस्य भूपराज बस्याल, बाबुराम सापकोटा, सुरेश गिरी, टिकाराम खरेल, मुक्तिराम खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

धेरै पढिएको