बेलायती संसद्मा नेपालीको गौरव: पुरन गिरीलाई अन्तर्राष्ट्रिय ग्रीन एप्पल अवार्ड
लन्डन । बेलायतमा रहेर व्यवसायसँगै सामाजिक सेवामा सक्रिय नेपाली उद्यमी पुरन चन्द्र गिरी अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘ग्रीन एप्पल वातावरण पुरस्कार २०२६’ (सिल्भर) बाट सम्मानित भएका छन्।
बेलायती संसद्को माथिल्लो सदन हाउस अफ लर्ड्समा सोमबार आयोजित विशेष समारोहमा गिरीलाई ‘द ग्रीन अर्गनाइजेसन’ ले उक्त पुरस्कार प्रदान गरेको हो। बेलायतको प्रतिष्ठित संसदीय परिसरमा आयोजित समारोहमा एक नेपाली उद्यमीले अन्तर्राष्ट्रिय वातावरणीय सम्मान प्राप्त गर्नु नेपाली समुदायका लागि पनि गौरवको विषय बनेको छ।
गिरीलाई बेलायतको अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टरमा वातावरण संरक्षण, सरसफाइ तथा दिगो विकासका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
सन् १९९४ मा स्थापना भएको ‘द ग्रीन अर्गनाइजेसन’ अन्तर्राष्ट्रिय, स्वतन्त्र, गैरनाफामूलक तथा गैरराजनीतिक संस्था हो। यसले विश्वभर वातावरण संरक्षण, हरित प्रविधि र दिगो विकासका क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने व्यक्ति तथा संस्थालाई पहिचान गरी सम्मान गर्दै आएको छ।
झण्डै दुई वर्षअघि गिरीसहित नेपाली उद्यमीहरूको एक समूहले बेलायतको अल्डरसटस्थित वेलिङटन सपिङ सेन्टर तथा आसपासका सम्पत्ति करिब १० मिलियन पाउन्डमा खरिद गरेको थियो।
नेपाली उद्यमीहरूको लगानीमा सञ्चालित यस व्यावसायिक क्षेत्रमा वातावरणमैत्री व्यवस्थापन, स्वच्छता र दिगो विकासलाई प्राथमिकता दिँदै आएको बताइएको छ। सोही कार्यको मूल्यांकनका आधारमा गिरीलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
गिरीले बेलायतमा यस विधामा हाउस अफ लर्ड्समा आयोजित समारोहबाट सम्मान प्राप्त गर्ने नेपाली आफू पहिलो भएको दाबी गरेका छन्।
‘यस्तो सम्मानले निस्वार्थ भावले समाज र राष्ट्रको हितमा काम गर्न चाहने हामी सबैलाई थप ऊर्जा र प्रेरणा मिल्दो रहेछ,’ सम्मान प्राप्त गरेपछि गिरीले प्रतिक्रिया दिँदै भने।
वेलिङटन सपिङ सेन्टरका म्यानेजर जस्टिन कोलले पनि उक्त सम्मानले आफूहरूलाई उत्साहित बनाएको बताउँदै आगामी दिनमा वातावरण संरक्षणका गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
पर्वत जिल्लामा जन्मिएका पुरन चन्द्र गिरी बेलायतमा स्थापित नेपाली उद्यमी, समाजसेवी तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्नुका साथै नेपाली समुदाय र मातृभूमिका लागि सामाजिक योगदान पुर्याउँदै आएका गिरी अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्षसमेत हुन्।
बेलायतमा व्यावसायिक यात्रा सुरु गर्दा अनेक चुनौती सामना गरेका गिरीले निरन्तर मेहनत र लगनशीलताका माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका हुन्।
उनी बेलायतस्थित प्रतिष्ठित कार्यक्रमस्थल एम्पायर ब्याङ्क्वेटिङ हल तथा लगानी कम्पनी पीआरएन इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। अल्डरसटमा जापानी, भारतीय तथा नेपाली परिकार उपलब्ध गराउने सुशिमोटो रेस्टुरेन्ट पनि उनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ।
विवाह, सभा, सम्मेलन तथा विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमका लागि लोकप्रिय गन्तव्य बनेको एम्पायर ब्याङ्क्वेटिङ हलमार्फत उनले बेलायतको आतिथ्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रमा पनि आफ्नो उपस्थिति स्थापित गरेका छन्।
गिरीको परिचय व्यवसायमा मात्र सीमित छैन। उनले स्थापना गरेको अन्तर्राष्ट्रिय पर्वत समाजमार्फत नेपालमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, छात्रवृत्ति वितरण तथा विभिन्न सामाजिक अभियान सञ्चालन हुँदै आएका छन्।
कोरोना महामारीका कठिन समयमा पर्वत जिल्लामा ६४ लाख रुपैयाँभन्दा बढीको सहयोगमा स्वास्थ्य सामग्री वितरण, एम्बुलेन्स तथा शववाहन व्यवस्थापनलगायतका कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, पर्वत जिल्ला अस्पतालको सेवा वातावरण सुधार तथा सौन्दर्यकरणका लागि करिब ३५ लाख रुपैयाँ बराबरको परियोजना पनि उनको संयोजनमा अघि बढाइएको छ।
बेलायतमा पर्वत समाज यूके, शिव कल्चर एन्ड कम्युनिटी सेन्टरलगायत विभिन्न सामाजिक तथा सामुदायिक संस्थासँग आबद्ध रहेर उनले नेपाली भाषा, संस्कृति, पहिचान र सामुदायिक एकताका क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका छन्।
बेलायतमा नेपाली समुदायको व्यावसायिक उपस्थिति विस्तार हुँदै गएको सन्दर्भमा गिरीले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानलाई नेपाली उद्यमशीलता, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग जोडेर हेरिएको छ।
व्यवसायलाई आर्थिक लाभमा मात्र सीमित नराखी वातावरण, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोड्न सके त्यसले दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ भन्ने सन्देश उनको यो उपलब्धिले दिएको छ।
बेलायतमा रहेर मातृभूमिप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई निरन्तरता दिँदै आएका गिरीका लागि ‘ग्रीन एप्पल वातावरण पुरस्कार २०२६’ व्यावसायिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ। साथै, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली उद्यमीको पहिचान स्थापित गर्ने एउटा थप अवसरका रूपमा पनि यसलाई लिन सकिन्छ।

