४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेपालमै पहिलो पटक एनआरएनले डलरमा आइपिओ ल्याउँदै, बिदेशमा १० लाख डिम्याट खाेल्ने अभियान शुरू

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७७, सोमबार ११:२९

काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालमै पहिलो पटक डलरमा शेयर निष्कासन गर्ने भएको छ। संघले करिब नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको गर्ने तयारी गरिरहेको हो। संघले प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्नेछ । तर संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैरआवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन्। मुलुकभित्र रहेका नेपालीले भने त्यस किसिमका प्राथमिक शेयरमा आवेदन दिन नपाउने बताइएको छ।

“गैरआवासीय नेपाली संघले पहिलो पटक करिव नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने तयारी गरिरहेको छ। प्रति कित्ता १० डलरका दरले गैरआवासीय नेपालीका लागि लक्षित गर्दै शेयर जारी गर्दै छौं ” गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भने।

गैर आवासीय नेपाली संघले दुई वर्ष अघि लगानी सम्मेलन मार्फत १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप लगानी भित्र्याउन भन्दै प्राथमिक शेयर निष्कासनको तयारी गरेको हो। संघले आफ्नो १० प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहने गरी १० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्दै छ। उसले खोल्ने कम्पनीको प्रस्तावित नाम भने “एनआरएन इन्भेष्टमेन्ट फण्ड” राखेको छ। तर कम्पनी दर्ता प्रक्रियामा जाँदा उक्त नामसँग कुनै कम्पनीको नाम जुधे केही फरक हुन सक्ने पन्तले जानकारी दिए।

नेपाल सरकार र अर्थ मन्त्रालयबीच कम्पनी खोल्ने विषयको टुङ्गो लागि सकेको छ। एनआरएनले खोल्न लागेको कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालयको पाँच प्रतिशत शेयर हुने छ। यसअघि लगानी सम्मेलनमा भने उद्योग मन्त्रालयले पाँच प्रतिशत लगानी गर्ने भनी एमओयुमा सम्झौता भएको थियो।

तर प्रधानमन्त्री र अर्थ मन्त्रीको चाहनामा अर्थ मन्त्रालयकै लगानी हुनु पर्ने भएपछि अर्थ मन्त्रालयले पाँच प्रतिशत लगानी गर्ने भएको हो। अर्थ मन्त्रालयले कम्पनी खोल्न स्वीकृति सहितको सहमति पत्र संघलाई दिइसकेको पन्तले बताए।

अर्थले दिएको पत्र अनुसार केही दिनमै कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता प्रक्रियामा जाने छ। कम्पनी दर्ता भए लगत्तै संस्थापकहरूले कम्पनीमा आफूले कबुल गरेको रकम दाखिला गर्ने छन्। दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको लगानीको लागि प्रतिबद्धता आइसकेको छ। नेपाल सरकारले उपलब्ध गराउने भनेको पाँच प्रतिशत रकम समेत सरकारले उपलब्ध गराउने छ।

कम्पनीमा ८५ प्रतिशत लगानी गैर आवासीय नेपालीको हुने छ। ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ। प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ। उक्त शेयर विदेशमै बस्ने नेपालीहरूले मात्रै खरिद गर्न पाउने छन्।

कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासन गर्न कम्तीमा तीन वर्ष पुग्नु पर्ने प्रावधान छ । त्यसमा पनि नाफामा गएको र कम्पनीले प्राथमिक शेयर निष्कासनको औचित्य पुष्टि गरेपछि मात्रै शेयर निष्कासन गर्न पाउँछन्। तर खोल्न लागिएको कम्पनीलाई नेपाल सरकारले विशेष सुबिधा दिएको छ। नेपाल सरकार,नेपाल राष्ट्र बैंक र नेपाल धितो पत्र बोर्डकाे विद्यमान कानुनले बाधा नपुर्‍याउने गरी यसलाई विशेष सुबिधा दिइएको छ। सोही विशेष सुविधा प्रयोग गर्दै कम्पनीले दर्ता भए लगत्तै विदेशमा रहेका नेपालीहरूबाट प्राथमिक शेयर मार्फत रकम संकलन गर्ने पन्तले बताए।

यसका लागि संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउँदै छ। निष्कासन गर्न लागिएको शेयर डिम्याट खाता भएका नेपालीले मात्रै आवेदन दिन पाउने छन्। डिम्याट खाेल्न नौ वटा बैकसँग संघले कुराकानी गरिसकेको छ। नेपाली बैंकहरुले विश्वभर डिम्याट खाता खोल्ने सुबिधा उपलब्ध गराउने छन्।

शेयर आवेदकका डिम्याट खातामै शेयर आउने छ। उनीहरुले प्राप्त गर्ने शेयरको किनबेच भने नेपाल स्टक मार्फत हुने छ। जसको लागि नेपाल स्टकमा उक्त शेयर सूचीकरण गरिने पन्तले जानकारि दिए।

कम्पनीले निष्कासन गरेको शेयर मार्फत संकलित रकम स्वदेशमा नै लगानी हुने छ। यतिबेला ७० भन्दा बढी प्राेजेक्टको प्रस्ताव तयार रहेको र ती मध्ये छानेर कम्पनीले लगानी हुने छ। बिदेशमा भएका नेपालीसँग भएको रकम स्वदेश विकासमा लगाउने गरि काम गर्ने अभियान अनुरुप बिदेशमा रकम संकलन गरेर स्वदेशमा लगानी गर्न लागिएको पन्तले बताए।
सुवास निरौला/मेरो लगानीबाट