१० जेष्ठ २०८१, बिहीबार
Follow Us

विमलेन्द्र, शशांक र प्रकाशमान एउटै टिम बनाएर अघि बढ्ने

नेपालब्रिटेन संवाददाता
११ असार २०७८, शुक्रबार १२:२६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी महाधिवेशनमा एउटै टिम बनाएर अघि बढ्ने संकेत गरेका छन्। महामन्त्री कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताएका छन् ।उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्।

सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्। छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापति को उठ्ने भन्ने पछि नै निर्णय गरिने बताए। त्यस्तै उपसभापति निधिले आफुहरुबीचको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिएकोर यो पहलमा सबै खुसी भएको बताए ।

बैठकपछि सभापतिका अर्का आकांक्षी सिंहले सभापति को उठ्नेबारे औपचारिक रूपमा घोषणा गर्ने समय आउने बताए। आफूहरूबीच भइरहेको छलफल सकरात्मक दिशातर्फ गइरहेको दाबी उनको छ।

निधि, कोइराला र सिंह कांग्रेसका संस्थापक नेताहरू महेन्द्रनारायण निधि, विपी कोइराला र गणेशमान सिंहका छोरा हुन्। आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गर्दै उनिहरुले सक्रिय राजनीति गरेर चुनाव लडेर आएकाले परिवारवाद भन्न नमिल्ने बताए।