२९ मंसिर २०८२, सोमबार
Follow Us

दुई नेपाली विद्यार्थीले पूर्णछात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८२, सोमबार ००:५०

दुई नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) र एशिया इन्टरनेशनल युनिभर्सिटी (एआइयू), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्णछात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ। देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको गुनासोका बीच एनआरएनएले उक्त पहल थालेको हो।

विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग (एमइसी) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु भएको एनआरएनएले जनाएको छ। एनआरएनएकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले आवेदन यहीँ २३ डिसेम्बर २०२५ सम्म दिन सकिने बताइन्। परीक्षा चिकित्सा शिक्षा आयोग (एमइसी)मा आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस, ललितपुरमा सञ्चालन हुने घिमिरेले जानकारी दिइन्।

छात्रवृत्ति प्राप्त दुई विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपालमा कम्तीमा २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा गर्नु पर्नेछ। छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना र बस्न) विश्वविद्यालयले बेहोर्नेछ।

यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको