लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च महिनाको दोस्रो साता हुने निर्वाचन संस्थाको विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
एनआरएनएको निर्वाचन मोडालिटीका विषयमा छलफल गर्न परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले सरकार विधान र विधिभन्दा बाहिर गएर कुनै निर्देशन दिन नसक्ने स्पष्ट पार्दै संघको निर्वाचन हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट गर्न निर्देशन दिएका हुन् ।
मन्त्री शर्माले भौतिक रूपमा उपस्थित भएर निर्वाचन गरियोस् भन्ने आफ्नो चाहना भए पनि विदेशमा रहेका नेपालीलाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेको बताए । “यो कुनै छलफलको विषय होइन,” उनले भने, “विधानअनुसार भौतिक रूपमा उपस्थित हुन सक्नेका लागि सोहीअनुसार व्यवस्था गर्नुपर्छ र काठमाडौं आउन नसक्नेका लागि अनलाइन माध्यमको व्यवस्था अनिवार्य छ।”
उनले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्नु उचित नहुने उल्लेख गर्दै खेलका नियम पहिले नै तय भइसकेकाले सबै पक्षले त्यसलाई पालना गर्नुपर्ने बताए । “विधान मान्ने भन्ने विषयमा पहिले नै सहमति भइसकेको छ,” उनले स्पष्ट पारे ।
मन्त्री शर्माले एनआरएनएको १२औँ महाधिवेशन सफल बनाउन सरकारको तर्फबाट सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । लोकतान्त्रिक प्रक्रिया नमान्नु भनेको आफ्नै असफलता देखाउनु भएको उनको भनाइ थियो ।
कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले सधैँ कानून र नियमको आधारमा मात्र निर्णय लिने स्पष्ट पार्दै कुन विधानअनुसार निर्वाचन गर्ने भन्ने विषयमा पहिले नै सहमति भइसकेको अवस्थामा पटक–पटक छलफल आवश्यक नरहेको बताए ।
उक्त संयुक्त बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा सल्लाहकारहरूको व्यापक सहभागिता रहेको थियो।
बैठकमा उप–महासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिमिल्सेना, साथै सल्लाहकार अतुल कोइराला, डीआरसी अमेरिका पूर्ण बनिया, आरडब्ल्यूसी अमेरिका इन्दिरा त्रिपाठी, अष्ट्रेलियाबाट सल्लाहकार भैरव ढकाल र देवेन्द्र बस्नेत सहभागी हुनुहुन्थ्यो।
यस्तै, भर्चुअल माध्यमबाट अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्षहरु डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, रामशरण सिम्खडा, विश्वास तिगेला, पूर्व अध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्मा तथा बिनोद कुँवर, पूर्व उपाध्यक्ष केशव पौडेल, रतन कुमार झा, गौरी राज जोशी, बाबुराम लामा, भवानी प्रसाद ओली, गंगाधर गौतम तथा इन्द्रा बनको उपस्थिति थियो।
सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अधिकृत कुनाल मिश्र तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे बैठकमा सहभागी थिए।
एनआरएनए सम्मेलन आयोजक समिति गठन
यसैबीच, परराष्ट्र मन्त्रालयले आगामी १४ देखि १६ मार्चसम्म आयोजना हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशनको तयारीका लागि परराष्ट्रमन्त्री बालानन्द शर्माको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपाल सरकार र संघले संयुक्त रूपमा आयोजना गर्दै आएको प्रचलन रहेको छ ।


