२३ फाल्गुन २०८२, शनिबार
Follow Us

मोरङका तीन निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०८२, शनिबार १३:२६

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मोरङ जिल्लाका केही निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवारहरूले न्यून मत प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको छ। हालसम्म नतिजा सार्वजनिक भएका तीन निर्वाचन क्षेत्रमा उक्त अवस्था देखिएको हो।

मोरङका कुल छ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४, ५ र ६ को मत परिणाम सार्वजनिक भइसकेको छ। यी तीनै क्षेत्रमा एमालेका उम्मेदवारले आवश्यक न्यूनतम मत प्राप्त गर्न नसकेपछि जमानत जोगाउन सकेनन्।

क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी ४० हजार ८३३ मत प्राप्त गरी निर्वाचित भए। यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार गुरुराज घिमिरे १२ हजार ८१८ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत प्राप्त गर्दै जमानत सुरक्षित राखे। तर एमालेका उम्मेदवार जीवन घिमिरेले ६ हजार ९३३ मत मात्रै पाएपछि जमानत जोगाउन सकेनन्। उक्त क्षेत्रमा कुल ७९ हजार ७७५ मत खसेको थियो, जसमा ७४ हजार ५१९ मत सदर र ५ हजार २५६ मत बदर भएको निर्वाचन तथ्यांकले देखाउँछ।

त्यस्तै, मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। नेपाली काँग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत ल्याएर जमानत सुरक्षित राखे। एमालेका उम्मेदवार विनोद ढकालले ८ हजार ३१७ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एमालेका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारले पनि जमानत जोगाउन सकेनन्। यहाँ कुल ८९ हजार ८४७ मत खसेको थियो, जसमध्ये ८५ हजार २३३ मत सदर र ४ हजार ६१६ मत बदर भएको थियो।

मोरङ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा ३० हजार ४३४ मतसहित निर्वाचित भइन्। नेपाली काँग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने। जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत पाए भने एमालेका उम्मेदवार मनोज अग्रवालले ६ हजार ९४५ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको हो। यस क्षेत्रमा ७८ हजार ५२९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ९६९ मत बदर भएको निर्वाचन विवरणमा उल्लेख छ।

यसै क्षेत्रमा अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डलले यसपटक ४ हजार १९९ मत प्राप्त गरेका छन्। आवश्यक मत नपुग्दा उनको जमानत पनि जफत भएको निर्वाचन परिणामले देखाएको छ।

धेरै पढिएको