गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरूङ घलेको लगानीमा निर्माण भइरहेको होटल सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
काठमाडौंमा बनिरहेको यो होटल ‘द लक्जरी कलेक्सन होटल बाई म्यारिएट’ को व्यवस्थापनमा चल्नेछ। यो म्यारिएटकै व्यवस्थापनमा चल्ने दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन होटल हुनेछ।
दुई महिनाअघि नै यसको सम्झौता भइसकेको शेष घलेले बताएका छन्। अहिले म्यारिएट इन्टरनेसनलका डेभिड म्यारिएट सहितको टोली नेपाल आएका बेला होटलको भ्रमण तथा निरीक्षण गरेको छ।
उनका अनुसार सन् २०१३ देखि निर्माणाधीन होटलमा सुरूमा करिब ८ अर्ब रूपैयाँ लगानी अनुमान गरिएको थियो। तर लगानी बढ्दै १५ अर्ब रूपैयाँभन्दा बढी पुग्ने अनुमान रहेको उनले बताए।
होटलको निर्माण कार्य अब तीनदेखि चार महिनाभित्र सम्पन्न हुने अपेक्षा रहेको पनि उनले बताएका छन्।
होटलको निर्माण तथा सञ्चालन म्यारिएटको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ। सञ्चालनमा आएपछि करिब पाँच सयभन्दा बढीले रोजगारी पाउने छन्। २२५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको रहेको छ। होटलमा दुई हजार जना अट्ने क्षमताको बैक्युट हल, दुई वटा सभाहल, तीन वटा बैठक हल, चार वटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायतका सुविधाहरु सञ्चालन हुनेछ।