काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताए । ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्त्वपूर्ण भूमिका मन्त्री खनालको विश्वास छ ।
उनले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिए । उनले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चार वटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए ।
उनले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताए ।