मुख्य समाचार

श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला

धनुषा । धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । मिथिला नगरपालिका–९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीको दावी छ ।

उनले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि जंगलमा गाडेको बयान प्रहरी समक्ष दिएका छन् । हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बयानकै आधारमा प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ । हत्यापछि उनले पत्नी हराएको भन्दै प्रहरीले उजुरी दर्ता गराएका थिए ।

हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता