काठमाडौं । आइतबार राति भएको नेकपा (एमाले) एकता कार्यदलको १० बुँदे सहमति सार्वनिक भएपछि एमाले नेतृ राम कुमारी झाँक्रीले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने अडान लिएकी छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा सहमतिबारे ४ बुँदामा आफ्नो प्रतिक्रिया दिँदै झाँक्रीले अदालतमा निवेदकको रुपमा रहेका सांसद्हरुले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी छन् । झँक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेकी छन् ।
झाँक्रीले फेसबुकमा यस्तो लेखेकी छन्
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे सम्झौताबारे संस्थागत धारणा आउने छ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन । बैठक जाने कुरा हुन्न।
३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसद्हरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन। लिने कुरै आउँदैन ।
४. भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निरास पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।