१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस सभापति देउवाको ठाडो आदेशमा मन्त्रिपरिषद् बैठक स्थगित

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार ०७:००

काठमाडौं । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाको ठाडो आदेशमा बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । आजको मन्त्रिपरिषद बैठकले सशस्त्र र जनपद प्रहरीे प्रमुख आईजीपी तोक्ने तयारी गरेको थियो । पार्टी निर्णयविपरित गृहमन्त्री विमलेन्द्र निधिले आईजीपीको सिफारिस गर्ने तयारी गरेको बुझेपछि सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर त्यो निर्णय नगर्न भनेका थिए । निधिबाहेक कांगे्रसबाट बनेका मन्त्रीहरुलाई समेत देउवाले निधिलाई साथ नदिन निर्देशन दिएका थिए ।
पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका गृहमन्त्री विमलेन्द्र निधिले सभापति देउवाको निर्देशन नमानेपछि प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर मन्त्रिपरिषद्को बैठक रोक्न लगाएका थिए । प्रधानमन्त्री दाहालसमेत गृहमन्त्रीको पक्षमा उभिएकाले सभापति देउवाले कांगे्रसका तर्फबाट मन्त्री बनेकाहरुलाई समेत टेलिफोन गरी निधिको निर्णयविरुद्ध उभिन निर्देशन दिएका थिए । कांगे्रसबाट सहभागी मन्त्रीहरु समेत बैठकमा उपस्थित नहुने संकेत पाएपछि प्रधानमन्त्री दाहालले आजको मन्त्रिपरिषद् बैठक स्थगित गरेका हुन् ।
विधि र विधानअनुरुप सिनियरिटीका आधारमा आईजीपी नियुक्ति गर्दा पार्टीले हस्तक्षेप गरेपछि उपप्रधान तथा गृहमन्त्री निधि राजीनामा दिने मुडमा पुगेका छन् । यद्यपि राजनीतिक भविष्य समाप्त हुने डरले एकजना व्यक्तिलाई काँध थाप्नुभन्दा पार्टी सभापतिकै आज्ञा शिरोपर गर्ने मनस्थिति बनाएको बुझिएको छ । पार्टीले प्रतिनिधि बनाएर पठाएको व्यक्तिले सभापतिको आज्ञा नमान्ने कुरो हुँदैन, त्यसले विधि विधान जे भए पनि अन्ततः गृहमन्त्री साइजमा आएको बुढानीलकण्ठ श्रोतले नेपाल ब्रिटेन डट कमलाई बतायो ।

देउवाले किन रोजे जयबहादुर ?
सिनियर नवराज सिलवाल हुँदाहुँदै दुई नम्बरमा रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउन देउवाले गृहमन्त्री निधिलाई निर्देशन दिए । यो निर्देशन पाउने वित्तिकै सभापति देउवा र मन्त्री निधिबाट खटपट सुरु भएको थियो । यो खटपटले उग्ररुप लिएपछि पार्टीभित्र गृहमन्त्री निधिको आलोचना सुरु भएको थियो । कार्य क्षमताका आधारमा प्रहरी फोर्समा सिलवाल जहिले १ नम्बरमा रहँदै आएका थिए । तर २ नम्बरमा रहेका जयबहादुर सुदूरपश्चिमवासी र ठकुरी भएकै कारण सभापति देउवाले चन्दलाई आईजीपी बनाउन खोजिएको देखियो, एक उच्च प्रहरी अधिकृतले भने, ‘आईजीपी बनाउन क्षमताभन्दा पनि क्षेत्रीयता र जातियता हेरियो । यसले प्रहरी फोर्समा असन्तुष्टि उत्पन्न गराउँछ ।’