१५ चैत्र २०८०, बिहीबार
Follow Us

वेस्ट ह्यामसँग रोकियो सिटी

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०३:४४

लन्डन । खेल सकिन चार मिनेट अघि पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्न नसक्दा आइतबार राति इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्ट ह्याम युनाइटेडसंग शीर्ष स्थानको म्यानचेस्टर सिटी २-२ गोलको बराबरीमा रोकिएको छ । यद्यपि वेस्ट ह्यामको घरेलु मैदानमा सिटीले २-० ले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो । वेस्ट ह्यामका लागि दुवै गोल जारोड बोवेनले गरे ।

सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गरे । वेस्ट ह्यामका भ्लादिमिर कोउफलले एक आत्मघाती गोल गरे । बराबरीसँगै अंक दूरी बढाउन असफल भएको सिटीले उपाधि जित्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अन्तिम खेलमा सिटीले एस्टम भिल्लाको चुनौती सामना गर्नेछ । यता दोस्रो स्थानमा रहेको लिभरपुलको दुई खेल बाकी छ । उसले यसै हप्ता साउथह्याम्पटन र उल्भ्ससँग खेल्नेछ । यदि साउथह्याम्पटनविरुद्ध लिभरपुल पराजित भए सिटीले उपाधि रक्षा गर्नेछ ।

जारी लिगमा
सिटी ३७ खेलबाट ९० अंक जोडेर शीर्ष स्थानमा छ । लिभरपुल ८६ अंक साथ दोस्रो स्थानमा छ । वेस्ट ह्याम ५६ अंक जोडेर सातौँ स्थानमा छ । आज नै भएको खेलमा टोटनहमले वर्नलीलाई १-० अन्तरले पराजित गर्‍यो । यस्तै लेस्टर सिटीले वाटफोर्डबिरुद्द ५-१ को सहज जित पायो । यस्तै उल्भ्स र नर्वीच, लिड्स र ब्राइटन तथा एस्टन भिल्ला र क्रिष्टल प्यालेसले समान १-१ गोल अन्तरको बराबरी खेले ।