लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष हितकाजी गुरुङले आगामी ऐतिहासिक अधिवेशनमा सहभागी हुन सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई हार्दिक अपिल गरेका छन्। उनले एनआरएनए युकेको सदस्यता अभियानमा समेत सकृयतापूर्वक सहभागी भइ संघको भविष्य मजबुत बनाउन आग्रह गरेका छन्।
“गैरआवासीय नेपाली संघ सबै नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने साझा चौतारी हो,” अध्यक्ष गुरुङले भने, “यसलाई अझ प्रभावकारी, सक्षम र समावेशी बनाउन सबैको सक्रिय सहभागिता आवश्यक छ।”
गुरुङका अनुसार, आगामी अधिवेशन मात्र एक नियमित कार्यक्रम नभई यसपटक विशेष ऐतिहासिक अवसरको रूपमा लिइएको छ, जहाँ संघको भावी नेतृत्व, रणनीति र उद्देश्यहरूबारे महत्वपूर्ण निर्णयहरू लिइनेछन्।
उहाँले बेलायतभर रहेका सम्पूर्ण नेपालीहरूलाई संघको सदस्यता लिन प्रोत्साहन गर्दै यसमार्फत आफ्नो पहिचान, हकहित र योगदान सुनिश्चित गर्न आह्वान गरेका छन्। “मेम्बरसिप भनेको तपाईंको आवाज र सहभागिता हो,” गुरुङले जोड दिए।
सदस्यता अभियानमार्फत एनआरएनए यूकेमा नेपाली समुदायको व्यापक सहभागिता सुनिश्चित गर्दै आगामी निर्वाचनका लागि सबल आधार निर्माण गर्ने उद्देश्य राखिएको छ। एनआरएनए यूकेको नेतृत्वले अभियानलाई सफल बनाउन सबै क्षेत्रीय समितिहरू, समुदाय, संघसंस्थालाई सहकार्य र समर्थन गर्न आह्वान गरेको छ।
एनआरएनए युकेले हाल सदस्यता खुला गरिसकेको छ, र अध्यक्ष गुरुङका अनुसार, डिजिटल प्रणालीमार्फत छिटो र सहज रूपमा सदस्य बन्न सकिने व्यवस्था गरिएको छ।
अध्यक्ष हित काजी गुरुङ, सदस्यता अभियान संयोजक उपाध्यक्ष मनिष खत्री द्वारा सदस्यता प्रक्रिया पारदर्शी, समावेशी र प्राविधिक रुपमा सरल बनाउन संयोजकहरूलाई स्पष्ट दिशा–निर्देश दिइएको उल्लेख छ।
संस्थाको नयाँ सदस्यता तथा नवीकरणका लागि समयसीमा पनि जुन २५ तारिख मध्यरातसम्म गर्ने निर्णय गरेको महासचिव गोविन्द खरेलले जानकारी दिए ।
कार्यसमिति बैठकले यसअघि २६ जुलाइमा निर्वाचन र २७ तारिखमा १२ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष गुरुङले अन्त्यमा भने, “हामी सबै मिलेर एनआरएनए युकेलाई पारदर्शी, जवाफदेही र समावेशी बनाउन सक्छौं। तपाईंको सहभागिता नै हाम्रो शक्ति हो।”